( रोमी ८:१६–२५ )
त्योचाहिँ हामी परमेश्वरका सन्तान हौं भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हो । र सन्तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्वरका उत्तराधिकारी र ख्रीष्टसँग साझे–उत्तराधिकारी । उहाँसँग दुःख भोग्छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं । म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्य छैनन् । सृष्टि बडो उत्कण्ठाले परमेश्वरका पुत्रहरू प्रकट हुने कुराको प्रतिक्षा गर्छ । सृष्टि व्यर्थताको वशमा पारियो, त्यसको आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले त्यसलाई वशमा पार्नुभयो, यसै आशामा, कि सृष्टि त्यसको आफ्नै विनाशको बन्धनबाट मुक्त गराइनेछ, र त्यसले पनि परमेश्वरका सन्तानको महिमित स्वतन्त्रता प्राप्त गर्नेछ । हामी जान्दछौं सारा सृष्टि अहिलेसम्म एकसाथ प्रसववेदनाको आर्तनाद गरिरहेछ । सृष्टि मात्र होइन, तर हामी आफै पनि, जसमा पवित्र आत्माको पहिलो फल छ, सन्तानको रूपमा ग्रहण गरिनलाई, अर्थात् हाम्रो देहको उद्धारको निम्ति प्रतीक्षा गरेर हामी आफै पनि भित्र–भित्रै आर्तनाद गर्दछौं । किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं । अब देखिनेचाहिँ आशा त आशा नै होइन । किनकि देखेका कुराको आशा कसले गर्छ र ? तर यदि हामी आफूले नदेखेका कुराको आशा गर्छौं भने, धैर्यसाथ हामी त्यसको प्रतिक्षा गर्छौं ।”
धर्मीहरू किन पवित्र आत्मामा
आशा राख्छन् ?
किनकि हामी नयाँ गरी जन्मिएका ईसाईहरू नयाँ स्वर्ग र
पृथ्वीलाई प्राप्त गर्नेछौं यद्यपि जो नयाँ गरी जन्मिएका
छैनन् उनीहरू संसारको विनाशसँगै मेटिनेछन् ।
अहिलेको समय आशारहित छ
के संसारमा वास्तविक आशा छ ? अहँ, छैन । यो येशूमा मात्र विद्यमान छ । अहिलेको समय अनिश्चित र आशारहित छ । हरेक कुराहरु तीब्र गतिमा दिनदिनै परिवर्तन हुन्छन्, र मानिसहरु यी तीब्र गतिमा हुने परिवर्तनसँगै हिँड्न धेरै प्रयास गर्दैछन् । उनीहरु न त आध्यात्मिक सत्यलाई खोज्छन् न त उनीहरुलाई आध्यात्मिक सुखप्रति कुनै चासो छ । यसको सट्टा उनीहरु असफल हुनबाट जोगिन संघर्ष गर्छन् र संसारको दासको रुपमा जिउँछन् ।
नयाँ कामहरु उत्पन्न हुन्छन् र पूराना कामहरु लोप हुन्छन् । यसैअनुसार, मानिसहरु पनि नाटकीय रूपले परिवर्तन हुँदैछन् । त्यसकारण उनीहरु धेरै व्यस्त र चिन्ताले भरिएको जीवन बिताउँछन् । र विस्तारै, यस संसारप्रति उनीहरुको आशा मर्दै जान्छ । यसको विभिन्न कारणहरुमध्ये एउटा यो पनि हो कि उनीहरु भविष्यको कुनै सुनिश्चितता बिना नै जीवन बिताइरहेछन् । हामी यस्तो अस्थिर संसारमा बाँचिरहेका छौं ।
हामीले पवित्र आत्मामा अनन्त जीवनको आशा राख्नैपर्छ
हामी कसरी वास्तविक आशा प्राप्त गर्न सक्छौं ? हामी यो पानी र आत्माको सुसमाचारमा विश्वासद्वारा पाउन सक्छौं । जसले पवित्र आत्मा प्राप्त गरेका छन् उनीहरुको आशा पृथ्वीमा होइन, तर स्वर्गमा हुन्छ । पावल प्रेरितले स्वर्गको साँचो आशाको बारेमा बोले । हामी जसले पहिले नै पवित्र आत्माको बास प्राप्त गरिसकेका छौं स्वर्गका कुराहरुको आशा गर्छौं । हामी यसो गर्छौं किनभने हामी विश्वास गर्छौं कि येशू ख्रीष्ट हाम्रो सबै पापहरु उठाइलैजान आउनुभयो र हामी पापीहरुलाई यूहन्नाबाट भएको उहाँको बप्तिस्मा र उहाँको क्रूसको रगतले बचाउनुभयो । जसले पाप–क्षमाको सुसमाचारमा विश्वास गर्छन् उनीहरुलाई परमप्रभुले स्वर्गीय आशा प्रदान गर्नुभयो ।
रोमी ८:१९–२१ ले भन्छ, “सृष्टि बडो उत्कण्ठाले परमेश्वरका पुत्रहरू प्रकट हुने कुराको प्रतिक्षा गर्छ । सृष्टि व्यर्थताको वशमा पारियो, त्यसको आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले त्यसलाई वशमा पार्नुभयो, यसै आशामा, कि सृष्टि त्यसको आफ्नै विनाशको बन्धनबाट मुक्त गराइनेछ, र त्यसले पनि परमेश्वरका सन्तानको महिमित स्वतन्त्रता प्राप्त गर्नेछ ।” सारा सृष्टिले भ्रष्टता र मृत्युको बन्धनबाट मुक्त हुने आशा गर्दछ ।
यो संसारमा सबै कुराहरु अपूर्ण छन्, त्यसकारण उनीहरु आर्तनाद गर्छन् र परमेश्वरका सन्तानहरु प्रकट हुने दिनको प्रतिक्षा गर्छन् । यस अतिरिक्त, उनीहरु भ्रष्टताको बन्धनबाट मुक्त हुने र अनन्त जीवन जिउँने पनि इच्छा गर्छन् । सारा सृष्टिले त्यस दिनको प्रतिक्षा गर्छ जब तिनीहरु न त पतन हुन्छन् न त विलोप हुन्छन् तर यसको सट्टामा सदाको निम्ति जिउँनेछन् ।
कुनै दिन परमेश्वरले गर्नुभएको सबै सृष्टि नवीकरण हुनेछ । यद्यपि यो संसारमा एउटा फूल ओइलाउँछ र विलोप हुन्छ, नयाँ संसारमा त्यो सधैं फक्रनेछ र सदाको निम्ति बाँच्नेछ । हामीले पनि जोसँग पवित्र आत्माको बास छ यो नयाँ संसारलाई देख्नेछौं ।
येशू ख्रीष्टले वचन दिनुभयो कि उहाँ फेरि आउनुहुनेछ, पवित्र आत्माको बास प्राप्त गरेकाहरुलाई फेरि उठाउनुहुनेछ, उनीहरु प्रत्येकलाई नयाँ शरीर दिनुहुनेछ जुन अभ्रष्ट र अमर दुवै हुनेछ, र उनीहरुलाई अनन्त जीवन प्रदान गर्नुहुनेछ । उहाँले यो पनि वाचा गर्नुभयो कि उनीहरु परमेश्वरसँगै स्वर्गमा निवास गर्नेछन् । यो संसारको सारा सृष्टिहरु त्यस दिनको प्रतिक्षा गर्दैछन् ।
यो संसारलाई आशाद्वारा हेर्दा
धर्मीहरुको लागि यो सपना कहिले साकार हुन्छ ? यो तब सत्य हुन्छ जब हाम्रा परमप्रभु फर्किआउनुहुनेछ । जव हामी यो संसारलाई हेर्छौं हामी आशामा हुनैपर्छ । येशू भन्नुहुन्छ कि त्यहाँ विभिन्न ठाउँहरुमा अनिकाल, महामारी, भूकम्प र युद्धहरु हुनेछन् (मत्ती २४:७) । तर अन्त्य अझै आएको हुँदैन । यो संसारको अन्तिम दिनमा, हाम्रा परमप्रभु फेरि आउनुहुनेछ, संसारका सबै चीजहरुलाई नवीकरण गर्नुहुनेछ र अमरत्वको आध्यात्मिक शरीर हामीलाई प्रदान गर्नुहुनेछ । यसको अर्थ हुन्छ बिरुवाहरु र जनावरहरुले पनि अमरत्व प्राप्त गर्नेछन् । यसमा विश्वास गरेर, हामीले संसारलाई नयाँ आशाले हेर्नुपर्छ ।
यो संसारमा, पवित्र आत्माको बास प्राप्त गर्नेहरु पनि परमेश्वरको सन्तानको रूपमा हाम्रो शरीरको मुक्तिको महिमाको व्याकुल भएर प्रतिक्षा गर्दै, सारा सृष्टिसँगै आफू भित्र–भित्रै आर्तनाद गर्छन् । हामी संसारलाई आशाले हेर्दछौं किनकि जब उहाँ आउनुहुन्छ परमेश्वरले हामीलाई उहाँको सन्तान बनाउनुहुनेछ, जो कहिले न त पतन हुन्छ न त मर्दछ ।
यद्यपि कुनै दिन संसारको विनाश हुनेछ, सबै कुराहरु नवीकरण हुनेछन् जब परमेश्वर फेरि आउनुुुुहुनेछ । यसमा विश्वास गरेर हामीले आशापूर्वक जिउँनुपर्छ । तपाईंले परी कथामा पढ्नुभएको काल्पनिक संसारझैं नवीकरण गरिएको संसार आनन्दमय र आश्चर्यको हुनेछ । यस्तो संसारमा एक हजार वर्षसम्म बस्दाको कल्पना गर्नुहोस् । र हामीले उहाँको सन्तानको रूपमा अनन्त जीवन पनि पाउनेछौं जब हामी स्वर्गको राज्यमा प्रवेश गर्छौं । हामीले यस्तो आशा राखेर जिउँनैपर्छ ।
के तपाईं यो संसारमा कुनै आशा देख्नुहुन्छ ? अहँ । मानिसहरु निश्चिन्त भएर बाँच्छन्, किनकि उनीहरुलाई यो संसारप्रति कुनै आशा छैन । तर हाम्रा परमप्रभुले क्षमा गरिएकाहरुलाई र धर्मी बनाइएकाहरुलाई स्वर्गको आशा दिनुभएको छ । “किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं । अब देखिनेचाहिँ आशा त आशा नै होइन । किनकि देखेका कुराको आशा कसले गर्छ र ? तर यदि हामी आफूले नदेखेका कुराको आशा गर्छौं भने, धैर्यसाथ हामी त्यसको प्रतिक्षा गर्छौं ।” यसको अर्थ हुन्छ हामीले येशू फर्केर नआउनुभएसम्म धैर्यसाथ प्रतिक्षा गर्नुपर्छ किनकि हामी परमेश्वरको वचनमा विश्वासद्वारा बचाइएका थियौं ।
हामीसँग हाम्रो आत्मामा पवित्र आत्माको बास छ किनकि हामी हाम्रो पापहरुबाट बचाइयौं । अर्थात्, जसले येशूबाट क्षमा पाएका छन् उनीहरुको हृदयमा पापको सट्टा पवित्र आत्मा बस्नुहुन्छ । त्यसो भए हाम्रो शरीरको बारेमाचाहिँ के ? हाम्रो कमजोर शरीर पनि पुनरुत्थान हुनेछ, नयाँ जीवन र अमरत्व प्राप्त गर्नेछ । जब येशू फर्केर आउनुहुन्छ हामी परमेश्वरसँगै सदाको निम्ति बस्नेछौं । नयाँ गरी जन्मिएकाहरुले मात्र आशामा त्यसो गर्ने विशेषाधिकार पाउँछन्, र त्यसकारण हाम्रो आत्मा र शरीर श्रेष्ठ बन्नेछ । हाम्रो शरीर अमर हुनेछ र हामी कहिल्यै रोगी हुने छैनौं । हाम्रो सांसारिक शरीर कमजोर छ, त्यसकारण, हामीलाई श्रेष्ठ जीवन जिउँन असम्भव छ । तर यसपछि हामी श्रेष्ठ जीवन जिउँनेछौं । हामी परमप्रभुको दोश्रो आगमनको प्रतिक्षा गरौं । पवित्र आत्माको बास प्राप्त गरेकाहरुले मात्र त्यस्तो प्रकारको आशा र जीवन पाउन सक्छन् ।
धर्मीहरुको आशा स्वर्गमा मात्र हुँदैन तर यो संसारमा पनि साकार हुन्छ । बाइबलले भन्छ हाम्रा परमप्रभु फेरि आउनुहुनेछ जब यो संसार महाविपत्तिपछि पतन हुनेछ । उहाँ अवश्य आउनुहुन्छ । जब उहाँ पहिलोचोटि आउनुभयो, पापीहरुको निम्ति बप्तिस्मा लिनुभयो, उनीहरुलाई धर्मी बनाउन क्रूसमा मर्नुभयो, र अन्त्यमा स्वर्गमा उक्लनुभयो । परमेश्वर आउनुहुने समय अहिले नै हो ।
त्यो बेला उहाँले निदाएका सन्तहरुलाई उठाउनुहुनेछ जसले येशूमा विश्वास गरे र पवित्र आत्माको बास प्राप्त गरे र उनीहरुलाई भ्रष्टताको बन्धनबाट मुक्त गर्नुहुनेछ । उहाँले उनीहरुलाई नयाँ दिव्य शरीर दिनुहुनेछ जुन कहिल्यै क्षीण र रोगी हुँदैन । यस अतिरिक्त, उनीहरु बादलमा उहाँलाई भेट्न हावामा उड्ने छन् र उहाँले सबै कुरा नयाँ बनाउनुहुनेछ ।
त्यसपछि, हामी, हाम्रा परमप्रभु येशूसँगै, बस्नेछौं र सुसमाचारको सेवाको इनामको रूपमा नयाँ संसारमा एक हजार वर्षसम्म शासन गर्नेछौं । यो स्वर्गमा जानेहरुको लागि अभ्यास हो । यो स्वर्ग र वास्तविकताको आशा हो । त्यो बेलामा, सबै अपूर्ण कुराहरु पूर्णतामा बदलिनेछन्, क्षीण हुने वस्तुहरु कहिले पनि क्षीण हुनेछैनन् । यो वचन, “जुन शरीर विनाशमा गाडिन्छ, त्यो अविनाशमा जीवित हुन्छ,” (१ कोरिन्थी १५:४२) त्यही समयमा येशू ख्रीष्टद्वारा सम्पन्न हुनेछ ।
हामी जोसँग पवित्र आत्माको बास छ आशा गरौं ! तपाईंले सम्झनुपर्छ कि यद्यपि सबै कुराहरु क्षीण हुन्छन् र मर्छन्, यो नै अन्त्य होइन । हामीले यो आशामा विश्वास गर्नुपर्छ कि हाम्रा परमप्रभुले सबै संसारलाई फेरि नयाँ बनाउनुहुनेछ । हामीले नयाँ स्वर्ग र पृथ्वीको आशामा बाँचनुपर्छ । यो आशा राखेर नै, हामी सुसमाचारको प्रचार गर्न सक्छौं ।
हामीमा पवित्र आत्माको बास छ किनभने हामी संसारको पापहरुबाट बचाइयौं । यसरी नै, हामी भित्रको पवित्र आत्मा परमप्रभुको फिर्तीको प्रतिक्षा गर्दैहुनुहुन्छ । उहाँले हामीलाई हृदयमा निराश नहुन र आशा र विश्वासपूर्वक जिउँनको निम्ति परमेश्वरसँग मध्यस्थता गर्नुहुन्छ ।
हामीले पवित्र आत्मामा आशा राखेर जिउँनुपर्छ
धर्मीहरुको ठाउँ कहाँ छ ? यो 5सहस्राब्दीमा हुनेछ जब परमेश्वरले उहाँ फेरि आउनुभएपछि पृथ्वीलाई नवीकरण गरी पुनर्निमाण गर्नुहुनेछ र स्वर्गको राज्य आउनेछ । त्यसकारण, हामीले त्यस दिनको निम्ति धैर्यताकासाथ प्रतिक्षा गर्नुपर्छ । हामीले विश्वास गर्नुपर्छ जब यो संसारको पतन हुनेछ उहाँले हाम्रो शरीरलाई श्रेष्ठ बनाउनुहुनेछ । हामीसँग गौरवशाली भोलिको निम्ति आशा हुनुपर्छ ।
| 5जब प्रभु येशू आफ्नो प्रतिज्ञाअनुसार यो संसारमा दोश्रोचोटि आउनुहुनेछ, उहाँ स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरुलाई पहिले बौरीउठाउनुहुनेछ । यसपछि, उहाँले सबै सन्तहरुलाई, बाँचेका र बौरीउठेका, सदाको लागि अविनाशी र अमर शरीरमा परिवर्तन गर्नुहुनेछ, र उहाँले सबै सन्तहरुलाई प्रभुलाई बादलमा भेट्न हावामा उठाउनुहुनेछ (१ थेसलोनिकी ४:१६–१७, १ कोरिन्थी १५:५१–५३) ।त्यसपछि उहाँले पापीहरुमा आफ्नो रिसको सातवटा कचौरा खनाइसकेपछि सबै कुराहरु नयाँ बनाउनुहुनेछ । उहाँले पृथ्वीमा आफ्नो राज्य स्थापित गर्नुहुनेछ, र पहिलो पुनरुत्थानका भागीहरुसँग एक हजार वर्षसम्म शासन गर्नुहुनेछ (प्रकाश २०:४–५) । सहस्राब्दीपछि, उहाँले सबै मरेकाहरुको न्याय गर्नुहुनेछ, र उनीहरुलाई अग्नि–कुण्डमा फाल्नुहुनेछ (प्रकाश २०:११–१५) । त्यसपछि उहाँले आफ्ना सबै मानिसहरुलाई स्वर्गीय शहर, नयाँ यरूशलेममा डो¥याउनुहुनेछ, र उनीहरुसँग सदा बास गर्नुहुनेछ (प्रकाश २१:१–४) । |
पवित्र आत्माको बास भएको हुनाले, पावलसित हामीसँग भएको जस्तै आशा थियो । हामी मनमा त्यही आशा राखेर बाँच्छौं, सहस्राब्दी र स्वर्गको राज्यको प्रतिक्षा गर्दै । जो नयाँ गरी जन्मेका छैनन् उनीहरु यो संसारको पतनसँगै नाश हुनेछन्, तर हामी नयाँ गरी जन्मेका ईसाईहरु नयाँ स्वर्ग र पृथ्वीको अधिकारी हुनेछौं । यो आशा साँँच्चै सत्य हुनेछ । हाम्रो शरीर श्रेष्ठ हुनेछ र हामी येशूसँग नयाँ संसारमा एक हजार वर्षसम्म बस्नेछौं र शासन गर्नेछौं । त्यस दिनको उत्सुकतापूर्वक प्रतिक्षा गर्दै, हामी आशा गर्न सक्छौं र यो संसारमा निर्भयतापूर्वक बाँच्न सक्छौं ।
हामी धैर्यवान बनौं र प्रतिक्षा गरौं । यद्यपि हाम्रो जीवन नाशवान छ, हाम्रो आशा सत्य र साकार हुनेछ किनकि हामी परमेश्वरमा विश्वास गर्छौं । आशारहित मानिसहरु पहिले नै मरिसकेको भन्दा केहि बढ्ता होइनन् । कृपया आशा राख्नुहोस् र परमेश्वरको वचनमा विश्वासद्वारा आफ्नो सपनाहरुलाई कायम राख्नुहोस् ।
जसरी हाम्रो क्षमा वास्तविक थियो, हाम्रो शरीरमा हुने परिवर्तन पनि साँच्चै हुनेछ र सबै सृष्टिले साँच्चै अनन्त जीवन पाउनेछन् । हाम्रो आशा पनि वास्तविक हो । तपाईं जेमा विश्वास गर्नुहुन्छ त्यसमा आस्था राख्नुहोस् । जोसँग आशा हुन्छ उनीहरु सुन्दर, सुखी हुन सक्छन् । यदि मानिसहरुमा आशा छैन भने उनीहरु दुःखी हुन्छन् । सपना नभएका मानिसहरुसँग कुनै सुख हुँदैन । हामी सुखी जीवन बिताउन सक्छौं किनभने हामी सहस्राब्दी र स्वर्गको राज्यको, नयाँ स्वर्ग र पृथ्वीको आशा गर्छौं ।
धर्मीहरुसँग आशा हुनुपर्छ र पवित्र आत्मामा यो आशालाई प्रचार गर्नुपर्छ । हामीले आशा गर्नुपर्छ कि हाम्रो सुसमाचार संसारभरि फैलिन्छ । यदि तपाईंसँग दृढ आस्था छ भने, तपाईं महसुस गर्नुहुनेछ कि संसार त्यति ठूलो छैन । यद्यपि हाम्रो शुरुवात उल्लेख्य थिएन, हामी संसारभरि सुसमाचार प्रचार गर्न समर्थ हुनेछौं यदि हामी धैर्यसाथ आशा राख्छौं भने । पावलले गरेझैं, हामीले विश्वास गर्नैपर्छ ।
आशा भएकाहरु यो सुन्दर सुसमाचार प्रचार गर्ने आफ्नो काममा ईमान्दार हुन्छन् । हामीले यो आशारहित युगमा सुसमाचारको प्रचार हुनुपर्छ भनेर आशा गर्नुपर्छ । हामीले यो सुन्दर सुसमाचार थाकेकाहरुलाई, आशारहितहरुलाई, गरीब र तिरस्कार गरिएकाहरुलाई सुनाउनपर्छ । हामीले उनीहरुलाई स्वर्गको राज्यको आशाको बारेमा, जहाँ पानी र आत्माको सुसमाचारमा विश्वासद्वारा आफ्नो पापहरुबाट क्षमा पाएकाहरु मात्र प्रवेश गर्न सक्छन्, प्रचार गर्नुपर्छ र अन्धकारबाट मुक्त गर्नुपर्छ । हामीले उनीहरुलाई यो आशा राख्न प्रेरित गर्नुपर्छ कि परमेश्वरको संसार यो दुःखको समयपछि एक्कासि चोर आएझैं आउनेछ ।
सेवक र सन्तहरु जो नयाँ गरी जन्मिएका छन्, कृपया यो सुसमाचारलाई तपाईंको स्वर्गप्रतिको आशालाई दृढतापूर्वक कायम राख्दै संसारको अन्तिम छेउसम्म प्रचार गर्नुहोस् । यो संसार जति नै चाँडो नाश भए पनि, आशा भएकाहरु कहिले पनि नाश हुने छैनन् किनकि उनीहरुसँग यो सांसारिक जीवनदेखि पर केही अनन्त कुरा छ । उनीहरुले निश्चित रूपले दोश्रो जीवन पाउँनेछन् जुन परमेश्वरले उनीहरुलाई प्रदान गर्नुभएको छ ।